बाराको टाँगियाबस्तीमा बत्ती पुर्याउँदा युद्ध जितेजस्तो लाग्यो : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा बत्ती पुर्याउँदा आफूलाई युद्ध जितेजस्तो अनुभूति भएको बताएका छन्। वर्षौंदेखि प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने क्षेत्र भनेर टाँगियाबस्ती विद्युतीकरणबाट वञ्चित थियो। यस क्षेत्रका करिब १,४७६ घरधुरी वर्षौंदेखि अँध्यारोमा बस्न बाध्य थिए। प्राधिकरणले करिब २ करोड ३४ लाख रुपैयाँ लगानी गरेर प्रसारण लाइन विस्तार गरेपछि २०७९ साल असोजदेखि टाँगियाबस्तीमा पहिलोपटक बत्ती बलेको हो।
निवर्तमान कार्यकारी निर्देशकको रूपमा जेठ २७ गते पहिलोपटक टाँगियाबस्ती पुगेका घिसिङले भने सरकारी निकायबीच द्वन्द्व थियो। प्राधिकरण बत्ती बाल्न चाहन्थ्यो, तर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका निकायहरू विमानस्थलको कारण विद्युतीकरणमा रोक लगाइरहेका थिए।
उनका अनुसार पहिलो कार्यकालको अन्त्यतिर टेण्डर गरिए पनि सरकारी अवरोधका कारण रद्द गरिएको थियो। दोस्रो कार्यकालमा उनले विशेष पहल गर्दै उक्त अवरोध हटाई विद्युतीकरण सम्पन्न गरेका थिए। उनले भने प्रचण्ड गर्मी, राज्यविहीनता जस्तो अवस्था, आफ्नै नागरिकलाई पनि न्यूनतम सेवा नदिने हो भने के राज्य भन्ने? यस्तो सोचेर हामी अघि बढ्यौं र सफल भयौं।
वन कार्यालयको अवरोधलाई समन्वयमार्फत हटाउँदै जंगल छेउछाउबाट रुख नकाटी ७ किलोमिटर ११ केभी लाइन तानिएको थियो। रुख नकाट्न कभर्ड/इन्सुलेटेड कन्डक्टर प्रयोग गरिएको थियो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सशर्त सहमति दिएपछि हरेक घरधनीसँग लिखित कबुलियतनामा संकलन गरी नयाँ बत्ती जडान गरिएको हो। निजगढ विमानस्थलका नाममा विकास रोकिएको क्षेत्रमा उज्यालो ल्याएर घिसिङले भने यो उज्यालो अभियान सरकारभित्रैको अँध्यारो सोचमाथिको विजय थियो।