सुनसरीमा मोटरसाइकल दुर्घटना एकै परिवारका बाबु–छोरासहित तीन जनाको ज्यान गयो दुई गम्भीर

सुनसरीको रामधुनी नगरपालिका–७ स्थित बासबिटीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै परिवारका बाबु–छोरासहित तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
शनिबार साँझ करिब साढे ७ बजे भएको दुर्घटनामा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल र कान्छी चोकबाट कालाबञ्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा परी ५८६४ नम्बरको मोटरसाइकलका चालक रामधुनी–६ निवासी ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र ९६०५ नम्बरको मोटरसाइकलका चालक इनरुवा नगरपालिका–६ निवासी अन्दाजी ५० वर्षीय विन्दु यादवको मृत्यु भएको हो।
घाइते भएका इनर्चन चौधरीकी श्रीमती ३२ वर्षीया प्रतीक्षा चौधरी र इनरुवा–७ निवासी अन्दाजी ३६ वर्षीय रमेश चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुवै मोटरसाइकल तीव्र गतिमा रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतकहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार राति नै मृत घोषणा गरिएको थियो।