एसइई नतिजा सार्वजनिक देशभर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण सुदूरपश्चिममा ५५ प्रतिशत ग्रेडेड

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा अनुसार देशभर ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्। नियमित तहमा परीक्षा दिएका ४ लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २९९ जना ग्रेडेड भएको बोर्डले जनाएको छ।
गत वर्षको तुलनामा यस वर्षको ग्रेडेड हुनेको संख्या उल्लेखनीय रूपमा बढेको हो। अघिल्लो वर्ष ४७.८७ प्रतिशत मात्रै विद्यार्थी ग्रेडेड भएका थिए। यसपटक १३.९४ प्रतिशतले उत्तीर्ण दर वृद्धि भएको हो।
सुदूरपश्चिम प्रदेशमा यस वर्ष ५५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। उक्त प्रदेशबाट ५९ हजार ८०४ विद्यार्थी परीक्षामा सहभागी भएका थिए जसमध्ये ३२ हजार ९३० विद्यार्थी ग्रेडेड भएका हुन्। बाँकी २६ हजार ८७४ विद्यार्थी ननग्रेडेड भएका छन्।
ननग्रेडेड भएका विद्यार्थीका लागि आगामी साउन २९ गतेदेखि मौका परीक्षाको व्यवस्था गरिएको छ। गत वर्ष सुदूरपश्चिम प्रदेशमा ५३ हजार ४४६ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये केवल ३१.८८ प्रतिशत मात्र ग्रेडेड भएका थिए। बाँकी ३६ हजार ४१० जना विद्यार्थी ननग्रेडेड भएका थिए।
शिक्षा क्षेत्रका विज्ञहरूका अनुसार एसइई नतिजामा देखिएको सकारात्मक सुधारले सार्वजनिक विद्यालयहरूको शैक्षिक गुणस्तरमा सुधारको संकेत देखिएको छ।