सामाजिक उत्तरदायित्वतर्फ लम्कीचुहा नगरपालिकाको प्रभावशाली कदम

लम्कीचुहा नगरपालिकाले नगरभित्रका श्रमिकहरूको जीवनस्तर उकास्न सामाजिक उत्तरदायित्वप्रति गहिरो प्रतिबद्धता जनाउँदै उदाहरणीय कार्यहरू गर्दै आएको छ। यही सन्दर्भमा नगर प्रमुख सुसिला शाहीको सक्रिय पहल र श्रमिकप्रतिको आत्मीयता झल्किने गरी नगर क्षेत्रका सडक छेउमा बसेर जुत्ता–चप्पल मर्मत गर्दै जीविकोपार्जन गरिरहेका १० जना श्रमिकहरूलाई जुत्ता मर्मतसम्बन्धी आवश्यक सामग्रीहरू वितरण गरिएको छ।
सहयोगस्वरूप श्रमिकहरूलाई जुत्ता सिलाउने मेसिन, वर्किङ बेञ्च, कुर्सी, विभिन्न साइजका सोल, सोलुसन, सुई, कैंची, छाता लगायत मर्मत कार्यमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइयो। यस कार्यले श्रमिकहरूलाई आफ्नो व्यवसाय अझ व्यवस्थित र सम्मानजनक रूपमा सञ्चालन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। सामग्रीको उपलब्धताले उनीहरूको आय आर्जनमा स्थायित्व ल्याउने र आत्मनिर्भर जीवनशैलीको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख शाहीको नेतृत्वमा गरिएको यस्तो समावेशी र जनमुखी कदमले लम्कीचुहा नगरपालिकालाई सामाजिक न्याय, समावेशीता र दिगो समृद्धिको दिशामा अघि बढाएको छ। श्रमिक वर्गप्रतिको सहानुभूति र व्यावहारिक सहयोगमार्फत नगरपालिका समाजको कमजोर वर्गलाई सशक्त बनाउने यात्रामा लागिपरेको स्पष्ट छ, जुन सम्पूर्ण नगरवासीका लागि प्रेरणादायी कार्य हो।