चौखुमि टोल निरन्तर सेवा सुविधाबाट बञ्चित स्थानीयको वडा सरकारसँग स्पष्टिकरण माग

चौरपाटी गाउँपालिका–२ अन्तर्गत साविक सोकट गाविस वडा नं. १ मा पर्ने चौखुमि टोलका बासिन्दा शिक्षा कृषि तथा अन्य सामाजिक सेवाबाट निरन्तर वञ्चित हुँदै आएको गुनासो गर्दै आक्रोशित बनेका छन्।
स्थानीयहरूका अनुसार Good Neighbors International Nepal र मालिका विकास संघको सहकार्यमा सञ्चालन हुने कार्यक्रमहरूमा चौखुमिलाई निरन्तर बेवास्ता गर्दै आएको छ। आज मिति २०८२ असार १० गते वडा कार्यालयमा कृषि सामग्री वितरण भए पनि चौखुमिका वास्तविक कृषकहरूले कुनै पनि सामग्री प्राप्त नगरेको जनाइएको छ। साथै, शिक्षा सामग्री पनि अन्य टोलमा वितरण भएपनि चौखुमिलाई कुनै जानकारी समेत नदिइएको आरोप छ।
स्थानीय पदम साउदले भने हाम्रा बालबालिकालाई ‘अछामी’ भनेर छुट्याउनु गम्भीर विभेद हो। अघिल्लो पटक डोटीको चौखान माविमा पनि यही व्यवहार दोहोरिएको थियो। अब पनि योजनाबद्ध रूपमा हामीलाई पछाडि पारिँदैछ।
वडामा पटक–पटक ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको भन्दै स्थानीयहरूले गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले वडा सरकारसँग सार्वजनिक रूपमा स्पष्टिकरण माग गर्दै विभेद अन्त्य गरी सबैलाई समान पहुँच सुनिश्चित गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत स्थानीयहरूले गुनासा सार्वजनिक गर्दै चौरपाटी गाउँपालिकासँग यथाशीघ्र छानबिन गरी दोषीमाथि कारबाही र आवश्यक सुधारको माग गरेका छन्।