रौतहटमा ट्रक र सोकोन गाडी ठोक्किँदा दुईको मृत्यु

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार साँझ ट्रक र विद्युतीय सोकोन गाडी एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको सोकोन गाडी र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुर्घटनामा सोकोन गाडीमा सवार सर्लाही रामनगर–१ खैर्वाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धीरेन्द्र ठाकुरको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा उनीहरूलाई स्थानीय अस्पतालमा पुर्याइए पनि उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्, जसको चन्द्रपुरमा उपचार भइरहेको छ।
ट्रक र सोकोन गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।