अहमदाबाद विमान दुर्घटना ३० जनाको मृत्यु

एयर इन्डियाको एक अन्तर्राष्ट्रिय उडान बिहीबार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटनामा पर्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ। लन्डनका लागि उड्न लागेको उक्त विमानमा २३२ यात्रु र १० जना चालक दलका सदस्य सवार थिए।
विमान दिउँसो १:१७ बजे उडान भर्ने क्रममा थियो, तर टेकअफ गर्ने बेलामा नै दुर्घटना भयो। स्थानीय धरपुर क्षेत्र, विशेषगरी मेघानीनगरको आकाशमा बाक्लो धुवाँ देखिएको थियो। घटनास्थलमा आगलागी भएको पुष्टि भएको छ। दमकलका गाडीहरू र उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेका छन्।
अहिलेसम्म उद्धारकर्ताहरूले दर्जनौं घाइते यात्रुहरूलाई नजिकको अस्पतालहरूमा पठाइसकेका छन्। मृतकहरूको सनाखत प्रक्रिया जारी छ भने दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको बताइएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री राममोहन नायडुसँग फोनमा दुर्घटनाबारे जानकारी लिएका छन्। गृह मन्त्री अमित शाहले पनि गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग समन्वय गरेका छन्। नागरिक उड्डयन मन्त्री नायडु आफैं चाँडै घटनास्थल पुग्ने तयारीमा छन्।
हालसम्म दुर्घटनाको यकिन कारण सार्वजनिक गरिएको छैन। यद्यपि प्राविधिक त्रुटि वा मौसमीय असर हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ। भारत सरकारको उड्डयन सुरक्षा टोलीले अनुसन्धान सुरु गरिसकेको छ।