E-Paperदेशधर्मशीर्ष समाचारस्थानीय समाचार

शिल्पी समुदायको लोपोन्मुख सम्पदालाई उजागर गर्ने अनुसन्धानमूलक पुस्तक सार्वजनिक

काठमाडौं — नेपाल प्रज्ञा प्रतिष्ठानले गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा शीर्षकको महत्वपूर्ण अनुसन्धान कृति सार्वजनिक गरेको छ। अनुसन्धानकर्ता डीबी नेपाली ‘दमु’ले लेखेको यो कृति गण्डकी प्रदेशका शिल्पी समुदायमा प्रचलित मन्त्र–तन्त्र शिल्प परम्परा प्रकृतिपूजा र लोकसंस्कृति सम्बन्धी मौलिक सम्पदामाथि आधारित छ।

कृतिमा वैदिक परम्परादेखि आधुनिक वैज्ञानिक यथार्थसम्मको तुलनात्मक विश्लेषण गरिएको छ। वैदिक साहित्य र धर्मशास्त्रमा वर्णित शिल्पी समुदायको सामाजिक,सांस्कृतिक र धार्मिक भूमिकालाई मूल आधार मानेर अनुसन्धान अघि बढाइएको छ। दमुका अनुसार मन्त्र,तन्त्र र यन्त्र मानव जीवनको आधार रहेको वैदिक धारणा आजको विज्ञानले समेत पुष्टि गरिरहेको छ।

अनुसन्धानमा गण्डकी प्रदेशका कामी,दमाई,सार्की लगायतका शिल्पी समुदायका मौलिक ज्ञान,सीप,औजार,सञ्चार संकेत प्रणाली,जडीबुटी चिकित्सा र धामी–झाँक्री परम्पराबारे विस्तृत विवरण दिइएको छ। खासगरी दमाई जातिलाई आदिम सञ्चारकर्मीको रूपमा प्रस्तुत गर्दै ऐतिहासिक सन्दर्भमा नगराको धुनमार्फत सूचनाको आदान–प्रदान गर्ने परम्परालाई उद्घाटित गरिएको छ।

यस्तै कामी समुदायका प्रसिद्ध झाँक्री जयविरे कामीद्वारा प्रयोग गरिएको मृत्यु पछिको आत्मा नियन्त्रण गर्ने मन्त्र, भूतप्रेत हटाउने विधि, सार्की जातिको छालाजन्य रोगको उपचार सिप र टक्सारमा उनीहरूको भूमिका,शिल्पी समुदायको देवी–देवता पूजाको मन्त्र–तन्त्र विधि आदिका वर्णनले लोकसंस्कृतिको जगेर्ना गर्ने प्रयास भएको देखिन्छ।

शोधका अनुसार मध्यपश्चिम र सुदूरपश्चिमका शिल्पी समुदाय गण्डकी प्रदेशमा बसाइँ सरेसँगै आफ्नो मौलिक परम्परा विस्थापित गर्दै गएका छन्। त्यहीकारण मन्त्र–तन्त्रमा आधारित अमूर्त सम्पदा हराउने जोखिम रहेको चेतावनी पनि कृतिमा छ।

कृति१० अध्यायमा विभाजित छ जसमा प्राचीनकालदेखि आधुनिक कालसम्मको सामाजिक र सांस्कृतिक रूपान्तरण अछूतपना उत्पत्तिको ऐतिहासिक पृष्ठभूमि शिल्पी जातिहरूको चिनारी धामी–झाँक्री प्रणाली देवीदेवताको उत्पत्ति र भैरव सम्बन्धी लोकविश्वासहरू समेटिएका छन्।

शिल्पी समुदायको ऐतिहासिक बहिष्करण र हालसम्मको लिखित इतिहास अभावप्रति चिन्ता व्यक्त गर्दै प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले कृतिको भूमिकामा लेखेका छन् “समाजमा शिल्पी समुदाय आजसम्म मानव बन्ने संघर्षमा समय खर्चिरहेका छन्। उनीहरू अमानवीयकरणमा धकेलिएका छन्।”

यो कृति मन्त्र–तन्त्र र लोकसम्पदाको संरक्षण र अभिलेखीकरणतर्फको महत्वपूर्ण कदम मानिएको छ। अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन प्रायः नगन्य रहेको अवस्थामा यो शोधकार्यले बहसको नयाँ ढोका खोलेको छ।

यस महत्त्वपूर्ण कृतिको प्रकाशनका लागि नेपाल प्रज्ञा प्रतिष्ठान उपकुलपति डा. गुरुङ र अनुसन्धानकर्ता दमुलाई धन्यवाद दिँदै सांस्कृतिक सम्पदाको संरक्षण सबैको साझा जिम्मेवारी रहेको सन्देश दिइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!