नगर प्रमुख शाहीको जन्मदिन, मानव सेवा लम्कीलाई ५१ हजार सहयोग

कैलालीको लम्की चुहा नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीले जेठ २८ गते पर्न गएको आफ्नो जन्मदिनको अवसरमा मानवसेवा लम्कीलाई फलफुल र ५१ हजार नगद सहयोग गर्नुभएको छ।
उहाँले आफ्नो ३९ औँ जन्मदिनको अवसर पारी फलफुल र नगद सहयोग गर्नुभएको हो। आफ्नो जन्मदिनमा अनावश्यक खर्च नगरी अनाथ टुहुरा अभिभावकविहीन बालबालिका एवं जेष्ठ नागरिकलाई संरक्षण गर्दै आएको मानवसेवा लम्कीलाई खाद्यान्न सहयोग गरेर मनाउनुभएको हो।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता सामाजिक अभियन्ता, र अन्य स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।
मानवसेवा लम्कीमा हाल ३० जना बालबालिका, जसमा अशक्त, असहाय, अभिभावकविहीन बालबालिका तथा मानसिक रोगीहरू आश्रित रहेका छन्। संस्थाले उनीहरूको बसोबास, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकता पुरा गर्ने कार्य गर्दै आएको छ।
संस्थाका अध्यक्ष बिनोद थापाका अनुसार संस्थालाई दैनिक सञ्चालन र आवश्यक सेवा प्रवाहका लागि अझै धेरै सहयोग आवश्यक छ। उहाँले सबै समाजसेवी, संघसंस्था तथा दाताहरूसँग सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। उहाँले नगर प्रमुख शाहीले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।
यो सहयोगले संस्थाका बालबालिका तथा त्यहाँ रहेका असहाय असक्त मानसिक सन्तुलन गुमाएका मानिसहरूमा प्रत्यक्ष लाभ पुग्ने संस्थाले जनाएको छ।