क्यान्सरदेखि मिर्गौलासम्म जटिल रोगमा बीमाबाट थप १ लाख उपचार खर्च उपलब्ध

काठमाडौं – जटिल प्रकृतिका रोगको उपचारमा अब थप एक लाख रुपैयाँको स्वास्थ्य बीमा सुविधा उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा कोषमार्फत यस्तो सेवा दिन मन्त्रीस्तरीय निर्णय गरेको छ।
स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ को उपनियम अनुसार गम्भीर प्रकृतिका रोगहरू— क्यान्सर, मुटु रोग, मिर्गौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीलाई थप एक लाख रुपैयाँको उपचार सुविधा दिन लागिएको हो।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्देशनमा यो निर्णय भएको हो। नागरिकले स्वास्थ्य बीमाबाट अझ बढी लाभ पाउन सकून् भन्ने उद्देश्यले बीमा कोषलाई प्रभावकारी बनाउने तयारी थालिएको सचिवालयले जनाएको छ।
स्वास्थ्य बीमा बोर्डले मन्त्रालयको निर्देशनपछि आगामी बैठकमा यो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिरहेको छ। अब जटिल रोग भएका बीमित नागरिकहरूले बीमाको माध्यमबाट दुई लाख रुपैयाँसम्मको सेवा लिन सक्नेछन्। विपन्न वर्गका लागि लागू गरिएको अतिरिक्त एक लाख रुपैयाँको सहायता कार्यक्रम यथावत रहनेछ।
स्वास्थ्य बीमालाई दीगो र प्रभावकारी बनाउँदै कोषको दुरुपयोग रोक्नका लागि पनि मन्त्रालयले विशेष ध्यान दिने बताइएको छ। बीमा थैली बनाउने क्रममा रोगको भार, स्वास्थ्य आवश्यकता, लागत–प्रभावकारिता र वित्तीय दिगोपनाका आधारमा निर्णय गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्री पौडेलले नागरिकलाई स्वास्थ्य बीमा तर्फ आकर्षित गर्न दीगो सुधार योजना ल्याउने तयारी पनि गरिरहेको सचिवालयले जनाएको छ।