E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

कालिका माध्यमिक विद्यालयमा SEE उर्त्तीण विद्यार्थीहरूलाई सम्मान कक्षा ११ को भर्ना प्रक्रिया सुरु

कैलालीको लम्की चुहा नगरपालिका–१ भरुवास्थित कालिका माध्यमिक विद्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक विशेष सम्मान कार्यक्रममार्फत सम्मानित गरेको छ। कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक दिलराज थापाले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद आचार्य रहनुभएको थियो।

विद्यालयका सम्पूर्ण शिक्षक, विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा एकता, उत्साह र प्रेरणाको वातावरण झल्किएको थियो। समारोहमा सफल विद्यार्थीहरूलाई विद्यालय परिवारद्वारा खादा ओढाई, टिका लगाई भव्य रूपमा सम्मान गरिएको थियो। यस सम्मानले विद्यार्थीहरूमा आगामी शैक्षिक यात्रा प्रति थप आत्मविश्वास र उत्साह थपेको छ। कार्यक्रममा बोल्दै प्रधानाध्यापक थापाले सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

उहाँले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगकै कारण विद्यालयले निरन्तर शैक्षिक उन्नति गर्दै आएको उल्लेख गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद आचार्यले पनि आफ्नो मन्तव्यमा विद्यालयको समग्र प्रगतिमा विद्यार्थी, शिक्षक र अभिभावकहरू सबैको योगदान महत्त्वपूर्ण रहेको बताउँदै, आगामी दिनहरूमा विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस अवसरमा विद्यालयले कक्षा ११ को भर्ना प्रक्रिया सुरु भइसकेको जानकारी पनि गराएको छ। व्यवस्थापन तथा शिक्षा संकायमा भर्ना खुला गरिएको छ।

भर्ना प्रक्रियामा समयमै सहभागी भई अध्ययनको अवसर लिन विद्यालय प्रशासनले विद्यार्थीहरू र अभिभावकहरूलाई आग्रह गरेको छ। कालिका माध्यमिक विद्यालयले अनुभवी शिक्षक, शैक्षिकसहित सह–शैक्षिक गतिविधिहरूमा समेत जोड दिँदै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ। विद्यालय परिवारले SEE उर्त्तीण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै, आगामी शिक्षण यात्रा कालिका माध्यमिक विद्यालयमै सुरु गर्न सबैलाई हार्दिक आमन्त्रण गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!