काठमाडौंको आकाशमा अब नयाँ हेलिकप्टर उड्ने

काठमाडौं । नेपालमा पहिलोपटक तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर आयात गरिएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै फ्रान्समा निर्मित एक नयाँ एयरबस हेलिकप्टर नेपाल ल्याएको हो ।
हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी चीनबाट तातोपानीसम्म ल्याइएको हो । माउन्टेन हेलिकप्टरका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालका अनुसार पंखा लगायतका पार्टपूर्जा खोलेर कन्टेनरमा राखिएको हेलिकप्टर अहिले भन्सार प्रक्रियामा रहेको छ ।
भुसालले भने तातोपानी नाकाबाट हामीले पहिलोपटक हेलिकप्टर ल्याएका हौं यसअघि वीरगञ्ज हुँदै कलकत्ताबाट ल्याएका थियौं ।
तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र प्रसाद चुडालले पनि यो पहिलोपटक भएको हेलिकप्टर आयात भएको पुष्टि गरेका छन् । उनका अनुसार एक प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लिएर जाँचपास गरिनेछ ।
टिमुरे नाका साँघुरो भएकाले कम्पनीले तातोपानी नाका रोजेको हो । समुद्री बाटोबाट ल्याउँदा करिब एक महिना लाग्ने भए पनि तातोपानीबाट ८–१० दिनमै ल्याउन सकिने भएकाले यो विकल्प रोजिएको हो ।
जाँचपासपछि हेलिकप्टरलाई त्यहीं फिट गरिने र उडाएर काठमाडौं ल्याइने म्यानेजर भुसालले जानकारी दिए । यो हेलिकप्टर माउन्टेन फ्लाइटका लागि प्रयोग गरिनेछ । कम्पनीसँग अब तीनवटा हेलिकप्टर भएका छन् ।