सरकारले चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय, विभिन्न महत्वपूर्ण नियुक्ति र निर्णयहरू गरेको घोषणा

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले यस वर्षको चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यससँगै, सरकारी कार्यालय र सार्वजनिक निकायमा यो दिन सार्वजनिक बिदा हुने छ।
बैठकले नेपालको संविधानको धारा ५३ र सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ अनुसार, आर्थिक वर्ष २०८0/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ।
अर्को निर्णयमा, बैठकले विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा एक वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, ऋण असुली न्यायधिकरणको बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख पदमा दिनेशप्रसाद भट्टको नियुक्ति पनि गरिएको छ।