E-Paperअर्थ / वाणिज्यसंसार

नेपाल र भारतबीच सिधा हवाई सम्पर्क र सांस्कृतिक सम्बन्ध मजबुत बनाउन छलफल

नेपाल र भारतबीच सम्बन्ध मजबुत बनाउन छलफल

काठमाडौँ — भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्ग खोल्न र विभिन्न शहरबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका छन्। भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सम्मेलनको साइडलाइनमा बिहीबार मन्त्री पाण्डेले भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा, मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरू समेटेर तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलको माध्यमबाट नेपाल र भारतका विभिन्न शहरबीच सिधा उडान र अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न आग्रह गरेका छन्। उनले पोखरा नेपालको पर्यटकीय राजधानीका रूपमा विकसित भइरहेका बेला भारतीय पर्यटकहरूको वृद्धि देखाउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरूबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरूलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्री पाण्डेले भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग पनि भेट गरेका थिए। सो भेटमा उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरूबाट सिधा हवाई उडान गर्न भारतीय पक्षसँग आग्रह गरेका थिए। भारतीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबीच प्रभावकारी सम्पर्क स्थापना गरेर सांस्कृतिक र सभ्यतागत सम्बन्धलाई मजबुत बनाउन जोड दिएका थिए।

दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरूबीच विगतमा भएको समझदारी पत्रको म्याद सकिएको कुरा उठाउँदै त्यसलाई पुनः नवीकरण गर्ने विषयमा पनि छलफल भएको छ। मन्त्री पाण्डेले नाट्य प्रतिष्ठान र कला प्रतिष्ठान जस्ता निकायहरूबीच सांस्कृतिक र प्राज्ञिक ज्ञान आदानप्रदानमा जोड दिन आग्रह गरेका छन्।

यसका अतिरिक्त, मन्त्री पाण्डेले दक्षिण कोरियाका नागरिक उड्डयन, भूमि, पूर्वाधार उपमन्त्री जो जोङओनसँग भेटवार्ता गरी नेपाल वायुसेवा निगमको सिधा उडान कोरियामा सञ्चालन गर्ने विषयमा छलफल गरेका छन्। उनले भियतनामका यातायाता उपमन्त्री ली आन ट्वानसँग र जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री कोनोसुकी कोकुबासँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन्।

यी भेटघाटमा दुई देशबीच नागरिक उड्डयन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र मानवीय संसाधन विकास जस्ता विषयमा थप सहयोग र समन्वयको आवश्यकता रहेको चर्चा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!