E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

बैतडीको मटेला क्षेत्र पहिलो पटक सडक सञ्जालसँग जोडियो

बैतडी, २८ मार्च – बैतडी जिल्लाको मटेला क्षेत्र पहिलो पटक सडक सञ्जालसँग जोडिएको छ। नेपाल–भारत सीमा क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–१ का मटेला क्षेत्रको विकासमा ठूलो कदम अघि बढेको हो। सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)लाई लक्षित गर्दै सो क्षेत्रसम्म सडक निर्माण गरिएको छ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार, सुल्लेखान–शर्माली–नगरौघाट सडकअन्तर्गत पर्ने सिमल चौतारीबाट बीओपीसम्म १,१०० मिटर कच्ची सडक निर्माण गरिएको हो। यो सडक निर्माणको ठेक्का सम्झौता सङ्घीय समपूरक अनुदान कार्यक्रममार्फत गरिएको छ। गाउँपालिका र सङ्घीय सरकारको सहकार्यमा सडक निर्माण कार्य सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बलको बीओपीसम्म सडक सञ्जाल पुगेसँगै उनीहरूको काम सहज भएको बीओपीका प्रमुख, सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशजैशी ढकालले जानकारी दिए। पहिले सडकको अभावमा खाद्यान्न र अन्य सामग्री सिमल चौतारीबाट बोकेर ल्याउने गरिएको थियो, तर अहिले नयाँ सडकको सुविधा भएपछि सामग्रीको ढुवानी सहज भएको छ।

चालु आर्थिक वर्षमा भएको ठेक्का सम्झौताअनुसार, गाउँपालिकाले आगामी दिनमा सुर्नयागाड, रत्याल, जोलापानी, पौँखर, बगार, दुबला, स्वाल, गाउँसल्ला हुँदै कुस्माउतघाटलगायत स्थानमा सडक निर्माण गर्ने योजना बनाएको छ। यसरी, बैतडीका विभिन्न गाउँ तथा क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने कार्यले समग्र क्षेत्रको समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!