काठमाडौं: नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको छ। यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा क्यानडासँग व्यहोरेको पहिलो हार हो।
२५४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपाल ४०.१ ओभरमा १५० रनमा अलआउट भयो। नेपालको तर्फबाट करण केसीले सर्वाधिक २७ रन बनाउँदै २४ बलमा २ चौका र २ छक्का प्रहार गरे। ओपनर कुशल भुर्तेलले १ रन, आसिफ शेखले २०, भीम सार्कीले १८, कप्तान रोहित पौडेलले ५, कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८, सोमपाल कामीले ६, सन्दीप लामिछानेले २२ र गुलशन झाले १५ रन बनाए।
क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए। अखिल कुमार र अंश पटेलले २-२ विकेट लिए भने सादविन जाफरले १ विकेट लिएका थिए।
यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो। ४० ओभरमा १४९-५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफल तयार गरेको थियो। कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै अविजित ७३ रन बनाए। नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८ रन, डिलोन हेलिगरले ३०, हर्ष थाकेरले २७, परगत सिंहले १७, आरोन जोनसनले १० र साद बिन जाफरले १७ रन बनाए।
नेपालका सोमपाल कामी र ललित राजवंशीले समान २-२ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १-१ विकेट झारे। नेपालले अब आफ्नो अर्को खेल बुधबार ओमानसँग खेल्नेछ। नेपाल लिग २ मा ५ खेलमा २ अंकसहित सातौं स्थानमा रहेको छ भने क्यानडा ९ खेलमा १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। नेदरल्यान्ड्स ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ।