काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुँदैछ। भेला दुई दिनसम्म चल्नेछ, जसमा देशभरका १५०० भन्दा बढी प्रतिनिधिहरू सहभागी हुनेछन्। प्रतिनिधित्व निर्वाचन क्षेत्र समिति, जिल्ला संयोजक/उपसंयोजक, प्रदेश समिति/विभाग, केन्द्रीय समिति/विभाग तथा आयोगहरूबाट हुनेछ।
आज बिहान ९ बजे घण्ट बजाएर उद्घाटन गरिने भेलामा पार्टीको संगठन, विचारधारा, संसदीय मामिला, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, मूल्य-मान्यता, र विधान संशोधनजस्ता प्रमुख एजेन्डामा छलफल हुनेछ। पहिलो दिन पार्टीका कार्यवाहक महामन्त्री तथा संगठन विभाग प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन्, जसमा छलफल हुने अपेक्षा गरिएको छ।
भोलि, बुधबार, पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। यसै भेलाबाट राष्ट्रिय अभियानको घोषणा गर्ने र पार्टीको प्रथम महाधिवेशनको मिति पनि तय गर्ने तयारी गरिएको छ। रास्वपाले यस भेलाले पार्टीलाई नीतिगत, वैचारिक, र सांगठनिक रूपमा थप परिपक्व र स्पष्ट बनाउने विश्वास लिएको छ।