नेपाल सरकारले म्यानमारमा पठायो २२ सदस्यीय मेडिकल टोली

नेपाल सरकारले म्यानमारमा गएको भूकम्पको पीडितलाई राहत पुर्याउन २२ सदस्यीय एक मेडिकल टोली पठाएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार उक्त टोली म्यानमारको प्रभावित क्षेत्रमा पठाइएको हो।
टोलीमा भूकम्प प्रभावित व्यक्तिहरूको स्वास्थ्य उपचारका लागि सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सकहरू, नर्स र प्यारामेडिकहरू रहेका छन्। टोलीले भूकम्पका कारण घाइते भएका व्यक्तिहरूको उपचार र राहत कार्यमा खटिनेछ। नेपाली सेनाले जानकारी दिएको अनुसार उक्त टोली एक साता म्यानमारमा रहेर भूकम्पमा परेका पीडितहरूको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने छ।
म्यानमारमा गएको भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको र तीन हजार ९०० भन्दा बढी घाइते भएका छन्। राहत र उद्धार कार्यमा सङ्घर्ष भइरहँदा पनि सञ्चार सेवा अवरुद्ध भएको कारण प्रभावित क्षेत्रहरूमा अझै राहत सामग्री र चिकित्सकीय सहायता पुर्याउन गाह्रो भइरहेको छ।