विराटनगरमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

विराटनगर – प्रहरीले विराटनगरमा मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। पछिल्लो ६ दिनमा लगातार ६ वटा मोटरसाइकल चोरी भएपछि अनुसन्धान सुरु गरेको प्रहरीले मंगलबार बेलुका दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, कोशी अस्पताल आसपासबाट मात्रै तीन वटा मोटरसाइकल चोरी भएको थियो। मंगलबार अस्पतालबाट चोरी भएको एक मोटरसाइकलको खोजी गर्दै गर्दा, प्रहरीले भारतसँगको सीमावर्ती क्षेत्रबाट २ जनालाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका व्यक्तिहरू विराटनगर-१७ का २५ वर्षीय महम्मद मियाँ र सोही स्थानका १७ वर्षीय बालक रहेका छन्। प्रहरी स्रोतका अनुसार, यो गिरोह विराटनगरबाट मोटरसाइकल चोरी गरेर भारतमा लगेर बेच्ने काम गर्दै आएको थियो। मंगलबार दिउँसो चोरीको मोटरसाइकल भारत पुर्याएर फर्केका दुई जनाले अर्को मोटरसाइकल चोरी गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले अन्य गिरोह सदस्यहरूको खोजी जारी राखेको छ। मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले पक्राउ परेकाहरूबारे आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको जनाएका छन्।