धनगढीमा एक लाखभन्दा बढी नगदसहित १३ जना जुवाडे पक्राउ

धनगढी उपमहानगरपालिका-३ स्थित भाटभटेनी सुपरमार्केट नजिकैको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराका अनुसार पक्राउ परेकामध्ये होटलका सञ्चालकसहित धनगढी र आसपासका विभिन्न स्थानका व्यक्ति रहेका छन्।
पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर, धनगढी-३ निवासी ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षीय नवीन थापा, ३० वर्षीय मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द र घोडाघोडी नगरपालिका-२ का ४१ वर्षीय दुर्गा अधिकारी रहेका छन्।
त्यस्तै, बझाङको छविस पाथिभेरा गाउँपालिका-२ निवासी ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका-६ का पवन धामी तथा बैतडीको सिगास गाउँपालिका-१ का २८ वर्षीय दिनेश पन्त पनि पक्राउ परेका छन्।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले एक लाख १२ हजार ३२० रुपैयाँ नगद, तीन गड्डी तास, दुईवटा मोटरसाइकल र एकवटा स्कुटर बरामद गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।