चितुवाको आक्रमणमा परी तनहुँमा ९ वर्षीया बालिकाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–२, कामी डाँडामा चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय इसुब विककी छोरी अनुजा विकको चितुवाको आक्रमणबाट निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाले जानकारी दिएका छन्।
डीएसपी थापाका अनुसार शुक्रबार साँझ ६:३० बजे अनुजा आफ्नी फुपू फूलमाया विकको घरमा बत्ती लिन गएकी थिइन्। त्यसै क्रममा चितुवाले आक्रमण गरी उनलाई जंगलतिर तानेको थियो। घर नफर्केपछि उनका काका देवल विकले खोजतलास गर्ने क्रममा अनुजाको शव फेला परेको हो।
रगतले भरिएको चप्पल देखेपछि उनीहरू सोही दिशा हुँदै करिब १,५०० मिटर टाढा रहेको कटुसको घारीमा पुगेका थिए, जहाँ बालिकाको शव चितुवाले आक्रमण गरेको अवस्थामा भेटिएको थियो।
बस्तीमै पसेर मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयहरूमा चितुवाको त्रास फैलिएको छ। बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले नरभक्षी चितुवालाई नियन्त्रणमा लिन सुरक्षाकर्मी र डिभिजन वन कार्यालयलाई पासो थाप्ने तथा खोजी कार्य गर्न अनुरोध गरिएको जानकारी दिएका छन्।
तनहुँ जिल्लामा पछिल्लो समय चितुवाको आक्रमणका घटनाहरू दोहोरिन थालेका छन्, जसका कारण बासिन्दा झनै त्रसित भएका छन्।