E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

बजेट अभावले म्याग्दीका ६ सडक योजना निर्माण ठप्प

म्याग्दी — गण्डकी प्रदेश सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत सञ्चालित म्याग्दीका ६ वटा सडक स्तरोन्नति योजनाको निर्माण कार्य बजेट अभावका कारण रोकिएको छ।

निर्माण सम्पन्न गरिएपनि सरकारले बिलको भुक्तानी नगरेपछि ठेकेदार कम्पनीहरूले काम स्थगन गरेका हुन्। बेनी–पाखापानी सडक योजनाको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीका अनुसार, सरकारले आवश्यक बजेट व्यवस्था गर्न नसक्दा योजना अधुरैमा रोकिएको हो।

चालू आर्थिक वर्षमा प्रदेश सरकारले बेनी–पाखापानी सडकका लागि दुई करोड रुपैयाँ मात्र विनियोजन गरेको थियो। तर अघिल्लो वर्षमा मात्र सो योजनामा चार करोड रुपैयाँ खर्च भइसकेको थियो। यस्तै, दरवाङ–धारापानी–ताकम–मुना सडकका लागि छुट्याइएको दुई करोड रुपैयाँ बजेट पुस महिनामै सकिएपछि त्यसको काम समेत रोकिएको छ।

यसबाहेक, बेनी नगरपालिका र मङ्गला गाउँपालिका जोड्ने अर्जेखोलाको मोटरेबल पुलका ठेकेदारले गत असारमै निर्धारित समयभन्दा एक वर्षअघि निर्माण कार्य सम्पन्न गरे पनि अहिलेसम्म भुक्तानी नपाएका हुन्।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार, चालू आर्थिक वर्षमा विनियोजित बजेटमार्फत भुक्तानी गरिसकिएको छ। अब थप भुक्तानीका लागि रकमान्तर वा अतिरिक्त बजेटको आवश्यकता रहेको बताइएको छ।

हाल म्याग्दीमा सञ्चालनमा रहेका १० वटा बहुवर्षीय सडक तथा पुल आयोजनामध्ये ८ वटा निर्माणाधीन अवस्थामा छन्। तर बजेट अभावका कारण सबै आयोजना रोकिएका छन्।

स्थानियवासी र निर्माण व्यवसायीहरूले तत्काल बजेटको व्यवस्था गरी निर्माण कार्य अघि बढाउन सरकारसँग माग गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!