हमासद्वारा इजरायलको सर्तसहितको युद्धविराम प्रस्ताव अस्वीकार

गाजा – हमासले इजरायलद्वारा प्रस्तावित ६ हप्ता लामो युद्धविराम सर्त अस्वीकार गरेको छ। इजरायलले हालै गाजा क्षेत्रमा ६ हप्ते युद्धविरामको प्रस्ताव गर्दै सो अवधिमा हमासले हतियार त्याग्नुपर्ने सर्त राखेको थियो। तर हमासले इजरायलको प्रस्तावमा युद्धको पूर्ण अन्त्यबारे कुनै स्पष्ट प्रतिबद्धता नदेखिएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएको छ।
एक वरिष्ठ प्यालेस्टिनी अधिकारीका अनुसार, हमासका प्रमुख मागहरू – स्थायी युद्धविराम, इजरायली फौजको पूर्ण फिर्ता, र गाजामा राहत तथा पुनर्निर्माणको सुनिश्चितता – प्रस्तावमा सम्बोधन नगरिएकोले सहमति जनाउन नसकिने बताइएको छ। हमासले आफ्ना आधा बन्धकहरू मुक्त गर्ने तयारी गरेको भए पनि इजरायलबाट समान प्रतिबद्धता नआएको आरोप लगाएको छ।
यसबीच, इजरायलको सैन्य कारबाही गाजा क्षेत्रमा जारी छ। हालै युनिसखानस्थित एक अस्पतालमा भएको आक्रमणमा एक सुरक्षागार्डको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन्। इजरायली सेनाले सो आक्रमणमा हमासका एक नेता मारिएको दाबी गरेको छ।
संयुक्त राष्ट्रसंघले भने गाजामा जारी युद्धका कारण मानवीय अवस्था अति नै गम्भीर बनेको बताउँदै सबै पक्षलाई युद्धविरामका लागि सहकार्य गर्न आग्रह गरेको छ। गाजामा खाद्यान्न, औषधि र सुरक्षित बासको अभाव चुलिंदै गएको छ।