सर्वोच्चको आदेश पाँचखालका सबै इँटाभट्टा बन्द गर्न निर्देशन

काभ्रेको पाँचखाल नगरपालिकामा सञ्चालनमा रहेका इँटा उद्योगहरू बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको ठहर गर्दै अदालतले उक्त निर्णय सुनाएको हो।
२०७६ साल पुस १४ गते स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातावरण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभाग लगायतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा पाँचखालमा सञ्चालनमा रहेका इँटाभट्टाले वातावरणीय तथा स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लंघन गरेको उल्लेख गरिएको थियो।
हाल पाँचखाल क्षेत्रमा आठवटा इँटाभट्टा सञ्चालनमा छन्। अदालतको आदेशसँगै ती सबै भट्टाहरू अब बन्द हुने छन्।
यसैबीच, पाँचखाल नगरपालिकाले विज्ञप्ति जारी गर्दै वातावरण संरक्षणका लागि नीति निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। नगरपालिकाले इँटाभट्टालगायतका उद्योगलाई सुधारात्मक ढङ्गले सञ्चालनमा ल्याउने नीति अवलम्बन गर्ने बताएको छ।
नगर प्रमुखका अनुसार हामी वातावरणीय न्याय सुनिश्चित गर्न प्रतिबद्ध छौं। उद्योग सञ्चालनसँगै वातावरणीय सन्तुलन कायम राख्न सकिने मोडलमा अघि बढिरहेका छौं।