काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबार (वैशाख १५ गते) शोक बिदा दिने निर्णय गरेको छ।
तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनप्रति श्रद्धाञ्जलीस्वरूप महानगरले शोक बिदा दिने घोषणा गरेको हो। डंगोलको शुक्रबार (वैशाख १३ गते) निधन भएको थियो।
वि.सं. २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग संघर्ष गर्दै आइरहेका थिए।
महानगरपालिकाले एक सूचना जारी गर्दै डंगोलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
उपप्रधानपञ्चको हैसियतले डंगोलले काठमाडौं सहर निर्माण, सहरी व्यवस्थापन, प्रवर्धन तथा सामाजिक सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै महानगरपालिकाले उहाँप्रति सम्मानस्वरूप आइतबार शोक बिदा दिने निर्णय गरेको जनाएको छ।
महानगरको प्रशासन विभागद्वारा जारी सूचनामा आइतबार महानगरको कार्यालय तथा मातहतका सम्पूर्ण सेवा एक दिनका लागि बन्द रहने उल्लेख गरिएको छ।