चार दिनपछि विराटनगरमा भेटियो धरानबाट हराएको यात्रुबाहक बस

धरान — धरानबाट चोरी भएको यात्रुबाहक बस चार दिनपछि विराटनगरमा फेला परेको छ।शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ स्थित दुर्गापथको एक ग्यारेजबाट हराएको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२ मंगलबारेमा बेवारिसे अवस्थामा भेटिएको हो।
बसका मालिक हरेन्द्र चेम्जोङका अनुसार उक्त बसको पार्टपुर्जा निकालिएको अवस्थामा फेला परेको छ। प्रहरीले दिएको जानकारीअनुसार ती पार्टपुर्जा विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा भेटिएको हो। बस शुक्रबार बिहान पूर्वपश्चिम राजमार्ग हुँदै खोर्सानेबाट विराटनगरतर्फ लागेको सीसीटीभी फुटेजमा देखिए पनि त्यसबेला फेला परेको थिएन।
मंगलबार दिउँसो स्थानीयले मंगलबारेमा बस देखेपछि प्रहरीलाई खबर गरेका थिए। हाल चोरीमा संलग्न गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उक्त बस पहाडी रुटमा चल्ने हो। यसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ।