काठमाडौंमा परोपकार पुलमुनि चक्कु प्रहार गरी हत्या ओरोपित पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–२० स्थित परोपकार पुलमुनि एक व्यक्तिको चक्कु प्रहारबाट हत्या भएको छ। हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ स्थायी ठेगाना भई हाल काठमाडौं डल्लु बसोबास गर्ने ३२ वर्षीय आशिष श्रेष्ठ रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार डल्लुबाट पक्राउ गरेको हो।
श्रेष्ठले १६ वैशाखको दिउँसो साढे ११ बजेतिर काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका करिब ४२ वर्षीय विक्रम तामाङ (माइला)लाई चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। तर, सोही दिन सवा १२ बजेतिर उनको मृत्यु भएको थियो।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी अंगुर जिसीका अनुसार व्यक्तिगत रिसइबीका कारण श्रेष्ठले तामाङमाथि चक्कु प्रहार गरेका थिए। पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ।