स्वास्थ्य चौकीमा इस्टेचर छैन खाटमै सुत्केरी भैरबीमा लाजमर्दो अवस्था

दैलेख भैरबी गाउँपालिका– ३ स्वास्थ्य सेवाको पहुँच अभावका कारण भैरबी गाउँपालिका–३ मा एक सुत्केरी महिलालाई इस्टेचर नभएर पुरानो खाटमै बोकेर स्वास्थ्य चौकीसम्म पुर्याउनु परेको छ। स्थानीय स्तरमा आधारभूत स्वास्थ्य पूर्वाधार नहुँदा जनताले ज्यान जोखिममा राखेर उपचारका लागि संघर्ष गर्नुपरेको छ।
घटनाका प्रत्यक्षदर्शी अनुसार ती महिलाको प्रसूति अवस्था जटिल हुँदै गइरहेको थियो। तर स्वास्थ्य चौकीमा इस्टेचरको सुविधा नहुँदा स्थानीय बासिन्दाले आफैं खाटमा राखेर बोक्दै उपचार केन्द्रतर्फ लगेका थिए।
स्वास्थ्य चौकीमा इस्टेचरजस्तो अत्यावश्यक सामग्री नहुनु स्थानीय तहको गम्भीर लापरवाहीको प्रमाण हो। यति संवेदनशील विषयमा पनि गाउँपालिकाले चासो नदेखाउनु प्रति नागरिक आक्रोशित भएका छन्।
यस वडाका वडा अध्यक्ष भक्ति प्रसाद उपाध्याय नेतृत्वमा रहेको वडामा यस्तो अमानवीय अवस्था देखिनु विकासको वास्तविकतामाथि ठाडो प्रश्न हो। चुनावका बेला गरिएका स्वास्थ्य सेवा पहुँचमा पुर्याउने भन्ने वाचा अहिले खोक्रो सावित भएको स्थानीयहरूको गुनासो छ।
स्वास्थ्य स्वयंसेवकहरूले जोखिम मोलेर सेवा दिइरहे पनि संरचना उपकरण र जनशक्तिको अभावमा उनीहरूको प्रयास पनि कमजोर बन्दै गएको छ।
स्थानीयले उठाएका मुख्य प्रश्नहरू यस्ता छन्:
स्वास्थ्य चौकीमा इस्टेचर किन छैन?
मातृ स्वास्थ्य सेवा सुधारमा बजेट कहाँ खर्च भयो?
स्थानीय सरकार र जनप्रतिनिधिहरू किन मौन छन्?
सामाजिक सञ्जालमा समेत उक्त घटनाको भिडियो भाइरल बनेपछि जनप्रतिनिधिहरूमाथि दबाब बढ्दै गएको छ।
स्थानीय नागरिकहरू भन्छन्, “अब भाषण होइन, व्यवहारिक काम चाहिन्छ।”
उनको माग छ– “स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्ता लापरवाही दोहोरिन दिनुहुन्न।”