E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

प्रधानमन्त्री ओलीको आह्वान बुद्धका शिक्षाले मानव जातिको कल्याण सम्भव

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई जीवनशैलीमा आत्मसात् गर्न सके मानव जातिको कल्याण हुने बताएका छन्।

२५६९औं बुद्धजयन्तीका अवसरमा सोमबार स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्रीको पहिलो कार्यकालमा लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्मरण गरे। सो ध्यान केन्द्रमा आठ हजार जना अट्ने क्षमता रहेको उल्लेख गर्दै उनले लुम्बिनी गुरुयोजना कार्यान्वयनलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताए।

प्रधानमन्त्री ओलीले बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकै दिन (वैशाख शुक्ल पूर्णिमा) परेको उल्लेख गर्दै आजको दिनलाई ‘असाधारण दिन’को संज्ञा दिए।

“बुद्धका शिक्षाहरु सरल, स्पष्ट र मानवतावादी छन्,” प्रधानमन्त्री ओलीले भने, “बुद्धले शान्ति, मित्रता, सहिष्णुता, सत्मार्ग र अशल बानीका कुरा गर्नुभयो, हामी अब ती शिक्षालाई व्यवहारमा ल्याएर अघि बढ्नुपर्छ।”

उनले महायान, थेरवाद र बज्रयान तीनवटै धारलाई बुझ्ने दृष्टिकोण फरक भए पनि बुद्धका मुख्य शिक्षामा कुनै भिन्नता नभएको प्रस्ट्याए। त्रिपिटकका विभिन्न अंगहरूमार्फत बुद्धका ज्ञानको विस्तार भएको उल्लेख गर्दै पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित भोजपत्रका त्रिपिटक ठेलीहरू आजसम्म सुरक्षित रहेको बताए।

कार्यक्रममा प्रधानमन्त्रीकी पत्नी तथा प्रथम महिला राधिका शाक्य, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, नेपालस्थित म्यान्मार र भारतका राजदूतावासका प्रतिनिधिहरूले समेत बुद्धजयन्तीको शुभकामना व्यक्त गरेका थिए।

यसअघि प्रधानमन्त्री ओली बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित औपचारिक कार्यक्रममा सहभागी भई सोही दिन काठमाडौँ फर्किएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!