E-Paperदेशशीर्ष समाचारस्थानीय समाचार

धुलिखेलमा पोल चढेर काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु

काभ्रे – काभ्रेको धुलिखेल नगरपालिका-७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडि विद्युत पोलमा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका–१२ घारिबथान निवासी २८ वर्षीय उपेश नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेका अनुसार शुक्रबार ११ हजार भोल्टको हाइटेन्सन लाइनको पोलमा चढेर तार जोड्ने काम गरिरहेका बेला उपेशलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेसँगै घटनास्थलमै उनी गम्भीर घाइते भएका थिए र पछि मृत्यु भएको पुष्टि गरिएको छ।

स्थानीयहरूले विद्युत प्राधिकरणले सूचना नदिई लाइन छोड्दा घटना भएको आरोप लगाएका छन्। मृतक उपेशलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो। घटनाको एक दिन अघि मात्रै काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै ११ केभी लाइन चार्ज गरिने जानकारी दिएको थियो र सावधानी अपनाउन आग्रह गरिएको थियो। तर कार्यालयकै असावधानीले एक युवकले ज्यान गुमाउनु परेको स्थानीयको भनाइ छ।

उपेशको शवलाई पोलबाट निकालेर पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ। यतिबेला घटनाबारे विस्तृत अनुसन्धान गर्न प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको जानकारी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!