भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकविरुद्ध प्रधानमन्त्री कार्यालयमा औपचारिक उजुरी

काठमाडौं – भिजिट भिसा प्रकरणमा संलग्नता रहेको आरोपसहित गृहमन्त्री रमेश लेखकविरुद्ध प्रधानमन्त्री कार्यालयमा औपचारिक उजुरी दर्ता गरिएको छ। सिन्धुलीका सामाजिक अभियन्ता युवराज सफलले प्रधानमन्त्रीको निजी सचिवालयमा उजुरी दर्ता (दर्ता नं. ८४३६) गराएका हुन्।
उजुरीमा गृहमन्त्री लेखकसहित गृह सचिव गोकर्णमणि दुवाडी र अन्य सम्बन्धित व्यक्तिहरूको तत्काल निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाउन माग गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा भिजिट भिसा व्यापार, भ्रष्टाचार र घुस प्रकरणमा उच्च तहसम्म संलग्नता देखिएको उजुरीमा उल्लेख छ।
सफलले दर्ता गराएको उजुरीमा गृहमन्त्रीका सचिवालयकर्मी, स्वकीय सचिव तथा अध्यागमन विभागका अधिकारीहरूबीचको मिलेमतोमा भिजिट भिसा कारोबार हुँदै आएको दाबी गरिएको छ।
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईको मोबाइल फरेन्सिक परीक्षणका लागि लिई छानबिन तीव्र बनाएको छ। आयोगका अनुसार, दैनिक रूपमा रु ५० हजारदेखि ३ लाखसम्म रकम असुली गरी त्यसको बाँडफाँट गृहमन्त्रीसम्म पुग्ने गरेको प्रारम्भिक जानकारी छ।
यस प्रकरणले राज्यसंयन्त्रभित्रको गम्भीर अनियमितता उजागर गरेको भन्दै उजुरीकर्ताले उच्चस्तरीय छानबिनको माग गरेका छन्।