छुवाछूत कुप्रथा विरुद्ध बैतडीका पण्डित गणेश पन्तको ऐतिहासिक धार्मिक अभियान

बैतडी — नेपालमा जातीय छुवाछुत तथा अन्य सामाजिक कुप्रथाहरू अन्त्य गर्न संस्कारशिरोमणि ज्योतिषी आचार्य पण्डित गणेश प्रसाद पन्तले ऐतिहासिक अभियान सञ्चालन गर्नुभएको छ। पाटन नगरपालिका–८, खोड्पे निवासी पण्डित पन्तले बैतडीका विभिन्न दलित बस्तिहरूमा गई न्वारन, व्रतबन्ध, विवाह, सप्ताह, वास्तुपूजा, गृहप्रवेशलगायत १०० भन्दा बढी धार्मिक कर्मकाण्ड सम्पन्न गर्दै सामाजिक रुपान्तरणको मार्गमा क्रान्तिकारी काम सुरु गर्नुभएको हो।
नेपालमा वर्षौँदेखि थुप्रै सामाजिक कुप्रथाहरू जरा गाडेर बसेका छन् — जसमा दास प्रथा, सती प्रथा, हलिया, कमैया, कमलरी, देउकी, डंगुवा, कटवाल, छाउपडी र छुवाछुत प्रथा प्रमुख छन्। कतिपय कुप्रथाहरू कानून र जनचेतनाका माध्यमबाट हटाइए पनि छुवाछुतजस्ता भेदभावकारी प्रथाहरू अझै व्याप्त छन्।
दास प्रथाको अन्त्य १९८१ सालमा चन्द्र शमशेरले गरेजस्तै सती प्रथाको अन्त्य पनि उहाँकै पालामा सन् १९२० मा भएको थियो। तर त्यस्तो सुधारात्मक उदाहरण पछाडि कतिपय प्रथाहरू अझै ज्यूँका त्यूँ छन्। खासगरी सुदूरपश्चिम र कर्णालीमा छाउपडी र जातीय छुवाछुत प्रथा अझै गहिरो रुपमा व्याप्त रहेको छ।
पण्डित पन्तको अभियानले धर्म, शास्त्र र संस्कारको सही व्याख्या गर्दै शोषण र विभेदको अन्त्य गर्न सकिने सम्भावनालाई बल दिएको छ। उहाँ भन्छन्, “धर्ममा कतै पनि जातका आधारमा भेदभाव छैन। हामीले शुद्ध मन, समर्पण र समानताको बाटो लिनुपर्छ। चन्द्र शमशेरले जसरी दास र सती प्रथा हटाउन कदम चाल्नुभयो, म पनि छुवाछुतजस्ता कुप्रथाविरुद्ध लड्न तयार छु।”
२०७९ जेठ १२ मा काठमाडौं माइतीघर मण्डलामा खगेन्द्र सोनारको नेतृत्वमा भएको जातीय विभेद विरोधी आन्दोलन, र नवराज बिक हत्या प्रकरणहरूले अझै पनि दलित समुदायको न्यायप्राप्तिको चुनौतीलाई उजागर गर्छ। तर पण्डित पन्तको नेतृत्वमा सञ्चालन भएको यस्तो अभियानले धार्मिक आडम्बरको आवरणमा लुकेका सामाजिक अन्यायलाई चिर्दै समावेशी र समान समाज निर्माणतर्फ सार्थक कदम चालेको छ।
धार्मिक क्रियाकलापमार्फत सामाजिक परिवर्तन ल्याउने यो ऐतिहासिक कार्य नेपाली समाजमा साँच्चिकै परिवर्तन सम्भव छ भन्ने सन्देश दिन्छ।