भारतमा संक्रमण बढेपछि नेपालमा सतर्कता काभ्रेमा ६ सहित ७ जनामा कोरोना पुष्टि

काठमाडौं – छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि नेपालमा पनि स्वास्थ्य सतर्कता अपनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो परीक्षणमा नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
महाशाखा निर्देशक डा. चन्द्रबल झाका अनुसार संक्रमितमध्ये १ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र ६ जना काभ्रेपलाञ्चोकमा भेटिएका हुन्। काभ्रेका संक्रमितहरू स्थानीय स्तरमै संक्रमित भएको आशंका गरिएको छ। संक्रमित सबैको अवस्था सामान्य रहेको र नियमित परीक्षणकै क्रममा संक्रमण पत्ता लागेको बताइएको छ। हालसम्म संख्यात्मक वृद्धि नभएकाले जिन सिक्वेन्सिङ आवश्यक नपरेको जनाइएको छ।
भारतमा संक्रमण बढेसँगै नेपाल सरकारले सीमा नाका र विमानस्थलहरूमा हेल्थ डेस्क स्थापना गर्दै सतर्कता बढाएको छ। साथै, सातै प्रदेशका स्वास्थ्य निर्देशनालयहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार हाल देखिएको कोरोना भाइरसको प्रकार कडा प्रकृतिको छैन, तर वृद्धवृद्धा र दीर्घ रोगीहरूका लागि जोखिम हुन सक्ने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताए। स्वास्थ्य विज्ञहरूले मास्कको प्रयोग, हातको नियमित सफाइ र भीडभाडबाट टाढा रहन सुझाव दिएका छन्।