राउटे युवतीमाथि दुर्व्यवहार गर्ने युवक पक्राउ

दैलेख — दैलेखको आठबिस नगरपालिका निवासी तपेन्द्र शाहीलाई राउटे समुदायका युवतीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालका अनुसार सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको एक भिडियोका आधारमा उनलाई टुनिवगरबाट नियन्त्रणमा लिइएको हो।
उक्त भिडियामा तपेन्द्र शाही चार जना राउटे युवतीहरूबीच बसेर अश्लील व्यवहार गरिरहेको देखिन्छ। ताजा ताजा भन्दै अँगालो हाल्ने प्रयास गर्दा युवतीहरू असहज भएको स्पष्ट देखिन्छ। भिडियोलाई घर्ती जगत नामक फेसबुक प्रयोगकर्ताले केही दिनअघि सार्वजनिक गरेका थिए जसमा समाजमा के सन्देश जान्छ पक्कै राम्रो हैन? भन्ने सन्देश पनि राखिएको थियो।
भिडियो सार्वजनिक भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो। बरालका अनुसार राउटे युवतीहरूमाथि दुर्व्यवहार गरिएको भिडियो र मिडियामा आएका समाचारका आधारमा ती युवकको खोजी गरेका थियौं। आज बिहान उनलाई पक्राउ गर्न सफल भयौं।
पक्राउ परेका शाहीलाई इलाका प्रहरी कार्यालय राकम कर्णालीको टोलीले नियन्त्रणमा लिएको हो र अब थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई सुर्खेत पठाइने जनाइएको छ।
प्रहरीका अनुसार तपेन्द्र शाहीको थप विवरण अझै खुल्न बाँकी रहेको छ। राउटे समुदायमाथि पटकपटक हुने यस्ता दुर्व्यवहारले उनीहरूको असुरक्षा बढेको भन्दै प्रहरीले कानूनी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।