E-Paperदेशराजनीतिशीर्ष समाचारस्थानीय समाचार

भ्रष्टाचार मुद्दापछि सोडारी निलम्बनमा नयाँ नेता चयन गर्न समाजवादी दलको तयारी

पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीको सांसद पद निलम्बनमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि सोडारी स्वतः निलम्बनमा परेका हुन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएलगत्तै अदालतको अन्तिम फैसलासम्म पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ।

सोडारीमाथि १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसाको गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। आयोगका अनुसार उनले पदको दुरुपयोग गरी अवैध रुपमा सम्पत्ति आर्जन गरेका छन्।

सोडारी निलम्बनमा परेपछि नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलले नयाँ नेता चयनको तयारी थालेको छ। संसदीय दलका उपनेता प्रकाश रावलले बुधबार दलको बैठक बोलाएर नयाँ नेता चयन प्रक्रिया अघि बढाउने बताएका छन्।

सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसदमध्ये सोडारी निलम्बनमा परेपछि अब तीन जना सांसद मात्रै क्रियाशील छन्। वर्तमान उपनेता प्रकाश रावल नै सम्भावित नेता मानिएका छन्, तर सांसद नरेशकुमार शाही र माया पन्तले पनि नेतृत्वमा चासो देखाएका छन्।

दलभित्र रावल र शाहीबीच नेतृत्वका लागि प्रतिस्पर्धा देखिए पनि पार्टीका शीर्ष नेताहरू सहमतिका आधारमा नेता चयन गर्न चाहने मनस्थिति बनिरहेको छ। त्यसैले अन्ततः सहमतिमा नेतृत्व चयन हुने सम्भावना बढी देखिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!