साँचो धर्म भनेको करुणा हो विभेद होइन: आचार्य गणेश पन्त

काठमाडौं – “सर्वं खल्विदं ब्रह्म” अर्थात् यो सम्पूर्ण संसार ब्रह्म स्वरूप हो भन्ने वैदिक सत्यलाई स्मरण गराउँदै, संस्कारशिरोमणि ज्योतिषी आचार्य पण्डित गणेश प्रसाद पन्त (पञ्चाङ्गकार तथा श्रीबनारसीधाम विश्वनाथ पिठाधिश्वर) ले आजको समाजमा बढ्दै गएको जात, धर्म, भाषा, लिङ्ग, सम्पत्ति आदिमा आधारित विभेदमाथि गहिरो चिन्ता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो जुनसुकै वस्तु हामी देख्छौं त्यसमा परमात्मा निवास गर्नुहुन्छ। जब हामी सबैलाई आत्माजस्तै दृष्टि राख्छौं तब भेदभावको अन्त्य हुन्छ।
धार्मिक दृष्टान्त प्रस्तुत गर्दै पन्तले भगवद्गीता स्मरण गराए जसमा श्रीकृष्णले भन्नुभएको छ
विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि।
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः॥
अर्थात् गहिरो ज्ञान र विनययुक्त ब्राह्मण, गाई, हात्ती, कुकुर र चमार सबैलाई समान दृष्टिले हेर्नु नै सच्चा धार्मिकताको चिन्ह हो। उहाँले जोड दिनुभयो धर्मको नाममा लडाइँ होइन मेलमिलाप हुनुपर्छ। साँचो धर्म भनेको करुणा, परोपकार र समर्पण हो।
वेदको अर्को श्लोक “एकं सत् विप्राः बहुधा वदन्ति” उद्धृत गर्दै उहाँले भन्नुभयो कि सत्य एउटै हो तर उसको अभिव्यक्ति फरक हुन सक्छ। यसैले विभिन्न धर्म, परम्परा र विचारधाराबीच सद्भाव रहन आवश्यक छ।
“वसुधैव कुटुम्बकम्” अर्थात् सम्पूर्ण पृथ्वी नै एउटा परिवार हो भन्ने हाम्रो सांस्कृतिक दर्शनलाई जीवनमा उतार्नुपर्ने उहाँको सुझाव थियो।
अन्त्यमा आचार्य पन्तले एक प्रेरणादायी श्लोक सुनाउँदै सबैलाई एकता र मानवताको पक्षमा उभिन आग्रह गर्नुभयो:
विभेद त्याग गरौं मानवताको लागि।
हाम्रा मनमा साँचो समता बढाऔं।
साँचो धर्म भनेको करुणा र परोपकार हो र यही बाटोले संसार विजयी हुन्छ।