दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा तीनकुने घटनाका ३२ धरौटीमा रिहा

काठमाडौं – गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै उनीहरूलाई थुनामा राख्न आदेश दिएको हो। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार प्रसाईंमाथि आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश गरिएको हो।
यसै क्रममा अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्ने आदेश भएको छ।थुनछेक बहस जेठ २० गतेदेखि सुरु भएको थियो भने बिहीबार उक्त बहस सकिएको हो। तीनकुने घटनामा संलग्न भनिएका ३९ जना प्रतिवादी यसअघि हिरासतमा थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएपछि ११ जेठमा ६१ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। तीमध्ये चार जना नाबालक रहेकाले उनीहरूलाई बाल न्यायालय रहेको भक्तपुर पठाइएको छ।
दुर्गा प्रसाईंसहित आठ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दासमेत दायर गरिएको छ भने अन्य ११ जनाविरुद्ध मात्र आपराधिक उपद्रवको मुद्दा लगाइएको थियो। आपराधिक उपद्रवमा मुद्दा खेपेका अधिकांश प्रतिवादी धरौटी बुझाएर यसअघि नै रिहा भइसकेका छन्।