भारतमा नेपालीहरूको उत्साहले रास्वपा पहिलो ठूलो दल बन्नेमा शंका छैन : सांसद सोविता गौतम

कर्नाटक — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले भारतमा रहेका नेपालीहरूको उत्साह र निर्वाचनप्रतिको सक्रियता हेर्दा आगामी निर्वाचनमा रास्वपा देशकै पहिलो ठूलो दल बन्ने विश्वास व्यक्त गरेकी छन्।
आइतबार भारतको कर्नाटक राज्यको बैंगलोरमा सम्पन्न प्रवासी नेपाली सम्पर्क मञ्च अन्तर्गत कर्नाटक राज्य समितिको घोषणा सभालाई सम्बोधन गर्दै सांसद गौतमले यो धारणा राखेकी हुन्। कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य हरि ढकालको समेत उपस्थिति रहेको थियो।
सांसद गौतमले भारतमा रोजगारीका लागि पुगेका नेपालीहरूमा रहेको राष्ट्रिय भावनाले आफूलाई उत्साहित बनाएको बताउँदै भनिन्, “अधिकांश साथीहरू सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट यहाँ आउनुभएको रहेछ। उहाँहरूले आगामी निर्वाचनमा अनिवार्य नेपाल फर्किने र देशको भाग्य बदल्ने अभियानमा सहभागी हुने उत्साह व्यक्त गर्नुभयो। हाम्रो आग्रहभन्दा बढी उहाँहरूको निर्वाचनप्रतिको व्यग्र प्रतीक्षा र भरोसाले अबको निर्वाचनमा रास्वपा पहिलो ठूलो दल बन्ने कुरामा कुनै शंका छैन।”
देशबाट टाढा भए पनि नेपालीहरूको मनमा समृद्ध नेपालको सपना रहेको उल्लेख गर्दै उनले जनताले मतपत्रको माध्यमबाट आफ्नो भाग्य आफैं लेख्ने विश्वास समेत व्यक्त गरिन्।
हजारौं नेपालीहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा नयाँ समितिको औपचारिक घोषणा गरियो। कार्यक्रममा प्रवासी नेपालीहरूको सहभागिता, अभिव्यक्ति र भावनाले रास्वपाले देशको विकासमा ल्याउन चाहेको नयाँ दृष्टिकोणलाई थप बल मिलेको आयोजकहरूले बताएका छन्।