भिजिट भिसा छानबिन निष्पक्ष नभए माओवादी केन्द्रले प्रतिवेदन अस्वीकार गर्ने चेतावनी

काठमाडौं — नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले निष्पक्ष, प्रभावकारी र तथ्यपरक छानबिन नगरेमा त्यसको प्रतिवेदन अस्वीकार गर्ने चेतावनी दिएको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुन अनन्तले भनाइ राख्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए। उनले सरकार र प्रमुख प्रतिपक्षबीच ३० जेठमा भएको दुई बुँदे सहमतिअनुसार छानबिन समिति गठन गरिएकोप्रति धन्यवाद दिँदै समितिले प्रभावकारी ढंगमा काम गर्नुपर्नेमा जोड दिए।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ‘उच्चस्तरीय अध्ययन तथा छानबिन समिति’ गठन गर्ने निर्णय गरेको थियो। गृहमन्त्री रमेश लेखकले समितिको गठनबारे सदनमा जानकारी गराएपछि माओवादी नेताले दलको धारणा सार्वजनिक गरेका हुन्।
पुनले भिजिट भिसा र अध्यागमन प्रणालीमा देखिएका समस्याका विषयमा गम्भीर भएर छानबिन हुनुपर्ने बताए। उनले समितिले ‘ग्रे एरिया’ हरू पहिचान गरी जनताको भावना अनुसार प्रतिवेदन तयार गर्नुपर्ने माग गरे।
उनले भने समितिले सत्यतथ्य छानबिन गरोस् र जनताको भावनाअनुसार प्रतिवेदन र सुझावहरू प्रस्तुत गरोस् भन्ने हाम्रो अपेक्षा छ। तथ्यसंगत ढंगले छानबिन भएन भने जनताका तर्फबाट निगरानी र खबरदारी हुनेछन्। हामी स्वयं प्रमुख प्रतिपक्षीको तर्फबाट निगरानी गरिराख्नेछौं।
लोकतान्त्रिक प्रणालीमा देखिएका कमजोरीहरू समय–समयमा सच्याउँदै अघि बढ्नुपर्ने उल्लेख गर्दै पुनले जनताको आलोचना र भावना अनुसार सुधार गर्ने नै लोकतन्त्रको बलियो पक्ष भएको बताए। उनले भिजिट भिसा प्रकरण अख्तियारले पनि छानबिन गरिरहेको भन्दै, त्यो प्रक्रिया निष्पक्ष र प्रमाण–तथ्यमा आधारित हुनुपर्ने बताए।
साथै उनले अख्तियारको अधिकार क्षेत्रभन्दा बाहिर रहेका ट्राभल एजेन्सी, मेनपावर, एयरलाइन्स कम्पनीहरू र अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधिहरू मुछिएको विषयमा पनि समितिले गम्भीर छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए।
पुनको भनाइमा माओवादी केन्द्रसहित प्रतिपक्षीहरूले १८ दिनसम्म संसद् बैठक बहिष्कार गरेर उठाएको मुद्दा गम्भीर छ, त्यसैले अब छानबिनमा कुनै राजनीतिक आवरण नराखी निष्पक्ष रूपमा काम हुनुपर्छ भन्ने स्पष्ट सन्देश दिएका छन्।