सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो : रास्वपा उपसभापति डोलप्रसाद अर्याल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले सुमिरे टुर एन्ड ट्राभल्स आफैंको कम्पनी भएको स्पष्ट पार्दै नेपाली कांग्रेस सांसद रामहरि खतिवडाको टिप्पणीप्रति आपत्ति जनाएका छन्।
शनिबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा नेपालीहरूलाई भिजिट भिसामा पठाउँदै आएको र अर्बौं रुपैयाँ संकलन गरी सांसद किनेर संसदमा प्रवेश गरेको आरोप लगाएका थिए। उनले सो ट्राभल कम्पनी कसको हो भनेर प्रश्न उठाउँदै मानव तस्करीको आशंका व्यक्त गरेका थिए।
खतिवडालाई जवाफ दिँदै आइतबार संसदमा बोल्दै डोलप्रसाद अर्यालले गर्वका साथ भने सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो। म नेपालमै केही गरेर खाने मान्छे हुँ चोरेर खाने होइन।
अर्यालले आफ्नो कम्पनीमार्फत भिजिट भिसामा गएका कोही पनि व्यक्ति विदेशमै अलप भएको वा नफर्किएको उदाहरण नरहेको दाबी गरे। मेरो कम्पनीबाट संसारको कुनै देशमा भिजिट भिसामा गएका कोही पनि व्यक्ति नफर्किएको प्रमाण छ भने देखाउन चुनौती दिन्छु उनले भने।
उनले प्रतिनिधिसभाको ध्यानाकर्षण गराउँदै भने हामीले समाजलाई काम गरेर खाने संस्कार दिन खोज्दा अनावश्यक लान्छना लगाउने विषयान्तर गराउने र पेशा व्यवसाय गर्नेहरूलाई बदनाम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।
अर्यालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे आफूहरूले संसदमा ३२ दिनदेखि आवाज उठाइरहेको स्मरण गराउँदै भने विषयान्तर गर्न खोजिँदैछ। यो स्वीकार्य छैन। साथै निराधार आरोप हटाउन सभामुखसमक्ष रुलिङको माग समेत गरे।
उनले भिजिट भिसा प्रकरणमा रास्वपाको आन्दोलन जारी रहने जानकारी समेत दिए।