रुकुमपश्चिममा श्रीमतीको खुकुरी प्रहार गरी हत्या

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा एक युवाले आफ्नी श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्।
स्थानीय ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविका बुढाथोकीको सोमबार खुकुरी प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार सामान्य घरायसी विवादका क्रममा चन्द्रबहादुरले आवेशमा आएर खुकुरी प्रहार गरेका थिए।
घटनास्थलमै प्रहरी टोली पुगेर खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको जनाइएको छ। सामान्य विवादपछि खुकुरी प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ प्रहरी निरीक्षक पाठकले जानकारी दिए।
प्रहरीले घटनास्थलबाट केही शारीरिक प्रमाणहरू संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा पठाइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।