कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ४ जना पक्राउ

धनगढी – सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाबाट प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार गरिएको कारबाहीमा विभिन्न स्थानबाट खैरो हिरोइन प्रतिबन्धित औषधिहरू तथा सिरेन्ज बरामद गरिएको हो।
कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ३४ वर्षीय अरुण वादीलाई मुडा बजार चोकबाट पक्राउ गरिएको छ। प्रहरीले उनलाई १६० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको हो।
कञ्चनपुरको बेलौरी नगरपालिका–१ मटैयाबाट २५ वर्षीय तेजबहादुर कार्की (खिरिया, बेलौरी–३) र २५ वर्षीय रोहित भट्ट (भीमदत्त–४) लाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट BUPRONORPHINE ४६ एम्पुल, DIAZEPAM १७ एम्पुल, PROMETHAZINE ४६ एम्पुल र १ थान सिरेन्ज बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै भीमदत्त नगरपालिका–३ निवासी ललित जोशीलाई पनि प्रहरीले गोप्य सूचनाको आधारमा घरमा खानतलासी गर्दा १.०६ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले पक्राउ परेका सबैमाथि लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।