गाडी पुगेपछि गाउँघरको संस्कृति ओझेलमा डोली र घोडाको चलन लोप हुने अवस्थामा

बैतडी — सडक सञ्जाल विस्तारसँगै गाउँघरमा गाडी चल्न थालेपछि परम्परागत संस्कृति हराउँदै गएको गुनासो उठ्न थालेको छ। दशरथचन्द नगरपालिका निवासी अमरसिंह ठगुन्नाले विगतका परम्परागत अभ्यासहरू क्रमशः हराउँदै गएका बताउनु भयो।
पहिलेदेखि बिहेमा प्रचलनमा रहेको घोडा र डोलीको चलन अहिले प्रायः लोप भइसकेको ठगुन्नाको भनाइ छ। उहाँले भन्नुभयो पहिले–पहिले बिहेमा दुलाहा घोडामा जान्थे, दुलही डोलीमा आउँथी। अहिले गाडी सहज भएका कारण यी परम्परागत अभ्यास हराउँदै गएका छन्।
गाडी पुगेको र सुविधा बढेकोमा खुशी व्यक्त गर्दै ठगुन्नाले आफ्नो मौलिकता भने हराउँदै जानु चिन्ताको विषय भएको बताउनुभयो। सडक सञ्जालले विकास त ल्यायो, तर संस्कृति हराउने खतरा पनि साथमा ल्यायो उहाँले भन्नुभयो।
उहाँका अनुसार परम्परागत रीतिरिवाज तथा सांस्कृतिक पहिचान जोगाउन समाजले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता छ। डोली, पाउवा, झ्याली, मादल, देउडा जस्ता सम्पदा हाम्रो सम्पत्ति हुन्, यिनको संरक्षण नगरे हालको पुस्ताले हेर्ने मात्रै होइन, चिन्ने पनि बन्द हुने स्थिति आउँछ ठगुन्नाले चेतावनी दिनुभयो।
गाउँ–गाउँमा गाडी पुगेको छ, विवाह–व्रतबन्ध लगायतका परम्परागत कार्यमा गाडीले स्थान लिएको छ तर सांस्कृतिक अभ्यास र परम्परा भने ओझेलमा परेका छन्। स्थानीय तह र समुदायको समन्वयमा यस्ता परम्पराको संरक्षण आवश्यक रहेकोमा जानकारहरू जोड दिन्छन्।